हेटौंडा / बागमती प्रदेश सभा सचिवालयले संसदीय विधि व्यवस्थापनको प्रक्रिया तथा संसदीय पत्रकारितामा सञ्चारकर्मीले निर्वाह गर्नुपर्ने भूमिकाबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम–२०८३ सम्पन्न गरेको छ।
उपसभामुख अपसरा चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जी र सभा सचिव रामकुमार पौडेलले संसदीय प्रक्रिया, विधेयक निर्माण र प्रदेश सभाको कामकारबाहीबारे जानकारी गराउँदै जिम्मेवार तथा तथ्यपरक संसदीय पत्रकारिताको आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार दिलभूषण पाठक र हरिबहादुर थापाले संसदीय पत्रकारिताका चुनौती, अवसर र सञ्चारकर्मीको भूमिका विषयमा आफ्ना अनुभव तथा धारणा राखेका थिए। उनीहरूले लोकतन्त्र सुदृढ बनाउन तथ्यमा आधारित, निष्पक्ष र उत्तरदायी पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
मकवानपुरका सक्रिय सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त अन्तरक्रियामा संसदीय गतिविधिलाई जनतासम्म प्रभावकारी रूपमा पुर्याउने, संसद् र सञ्चारमाध्यमबीच समन्वय बढाउने तथा संसदीय पत्रकारितालाई थप व्यावसायिक र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
















