अब कति दुर्घटनापछि सडक फराकिलो हुन्छ?”—हेटौंडामा सडक विस्तारमा ढिलाइ नगर्न धुर्व अधिकारीको आग्रह

Image

हेटौंडा/ हेटौंडा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्व अधिकारीले हेटौंडाको पूर्व–पश्चिम राजमार्गमा निरन्तर भइरहेका सवारी दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक विस्तारको काममा अब थप ढिलाइ गर्न नहुने बताएका छन्।

प्रिय भाइ बोलबहादुर कार्की दुर्घटनामा परेको घटनाप्रति दुःख व्यक्त गर्दै अधिकारीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले उक्त घटना केवल एक व्यक्तिको दुर्घटना नभई हेटौंडाले वर्षौंदेखि भोग्दै आएको सडक सुरक्षाको समस्याको अर्को उदाहरण भएको उल्लेख गरेका छन्।

अधिकारीले हेटौंडाको पूर्व–पश्चिम राजमार्गमा प्रायः दैनिकजसो दुर्घटना हुने गरेको उल्लेख गर्दै साँघुरो सडक, बढ्दो सवारी चाप, जनसंख्या वृद्धि तथा विस्तार हुँदै गएको व्यापारिक गतिविधिका कारण यात्रुहरू असुरक्षित बन्दै गएको बताएका छन्। उनका अनुसार सडक विस्तार आजको आवश्यकता नभई धेरै वर्षअघि नै अपरिहार्य भइसकेको विषय हो।

उनले सडक विस्तारको विषयलाई विकासको मुद्दाभन्दा बढी राजनीतिक विषय बनाइएको आरोप लगाउँदै मानव बस्ती, बाइपास, चुनावी एजेन्डा तथा विभिन्न स्वार्थका कारण वर्षौंदेखि योजना अल्झिएको बताए। “सडक विस्तार रोकियो, तर दुर्घटना रोकिएनन्,” भन्दै उनले अब सबै पक्षले नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

अधिकारीले सडक विस्तारको विरोध गरिरहेका स्थानीयवासीलाई पनि विकास र सुरक्षाबीच सन्तुलन कायम गर्दै समाधान खोज्न आग्रह गरेका छन्। उनका अनुसार सडक विस्तार कसैको घर भत्काउने अभियान नभई हजारौँ नागरिकको जीवन जोगाउने अभियान हो।

त्यसैगरी उनले राजनीतिक दलहरूलाई सडक विस्तारलाई चुनावी मुद्दा नबनाउन आग्रह गर्दै स्थानीय, प्रदेश र संघीय सरकार, सडक विभाग तथा सम्बन्धित निकायलाई तत्काल सडक विस्तारको कामलाई तीव्रता दिन अनुरोध गरेका छन्।

“हामीलाई राजनीति होइन, सुरक्षित यात्रा चाहिएको छ। हामीलाई विवाद होइन, समाधान चाहिएको छ। हामीलाई बहाना होइन, फराकिलो सडक चाहिएको छ,” अधिकारीले भने।

उनले हरेक दिनको ढिलाइले अर्को दुर्घटनाको सम्भावना बढाइरहेको उल्लेख गर्दै अब निर्णयकर्ताले नागरिकको सुरक्षालाई केन्द्रमा राखेर सडक विस्तारको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन्।