हेटौंडा / स्थानीय विकासका विषयलाई सिर्जनात्मक पत्रकारितामार्फत उजागर गर्ने उद्देश्यले आयोजित फिचर लेखन प्रतियोगितामा राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरकी संवाददाता अञ्जली थापा सर्वोत्कृष्ट घोषित भएकी छन्।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा थापाले कृषि तथा स्थानीय उत्पादनसँग सम्बन्धित ‘गुन्द्रुकको गृहउद्योग’ विषयमा तयार गरेको फिचर उत्कृष्ट ठहरिँदै ४५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरिन्। उनी प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव समेत हुन्।
प्रतियोगितामा कृष्ण (सुनिता) विष्ट, नवीन राउत, रुपक कालिराज, प्रतीक्षा न्यौपाने, आरती ढकाल, सन्तोष विक, वसन्त भण्डारी र जमुना थिङसहित अन्य फिचरहरू उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्। रातो समाचारका संवाददाता रोहित थापा क्षेत्री र सबै समाचारका पत्रकार गोविन्दप्रसाद न्यौपानेले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।
हेटौंडा उपमहानगरपालिकाभित्रका विकास, सम्भावना र स्थानीय विषयवस्तुलाई केन्द्रमा राखेर फिचर तयार गर्नुपर्ने प्रतियोगिताको मापदण्ड रहेको थियो। महासंघले असार २ गते सूचना प्रकाशित गरी असार १० गतेसम्म फिचर बुझाउन आग्रह गरेको थियो। सहभागी संख्या अपेक्षाकृत कम भएपछि समयसीमा असार १३ गतेसम्म थप गरिएको थियो।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३ जना पत्रकार प्रतिस्पर्धामा सहभागी भएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, पूर्वअध्यक्षहरू तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।















