हेटौंडा / जिल्ला मकवानपुरको हेटौडा उपमहानगरपालिका–३, नरसिंहडाँडा (रिमालटोल) मा शुक्रबार अपराह्न चट्याङ लाग्दा एक महिला गम्भीर घाइते भएकी छन्।
अन्दाजी ४:०० बजेको समयमा स्थानीय केशव कुमार कार्कीकी श्रीमती वर्ष अन्दाजी ३७ की चन्द्रावती रिमाल घर बाहिर भित्री सडकखण्डमा मोबाइल चलाउँदै हिँडिरहेको अवस्थामा एक्कासी चट्याङ लागी घाइते भएकी हुन्।
घटनापछि उनलाई तत्काल उपचारका लागि CMC हेटौडा अस्पताल प्रा.लि.मा ल्याइएको छ। प्रारम्भिक जानकारीअनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ भने अस्पतालमा उपचार भइरहेको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बसामाडी, मकवानपुरबाट प्रहरी टोली खटिई घटनासम्बन्धी आवश्यक बुझ्ने तथा अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।















