हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरको योजना अनुसार हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित महेन्द्र राजमार्गमा गरिएको सवारी साधन चेकजाँचका क्रममा दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट लागूऔषध खोजी गर्ने दुई वटा कुकुरसहितको टोली, प्रहरी चौकी रातोमाटे तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले संयुक्त रूपमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटार बस्ने अन्दाजी २३ वर्षीय सुमन गोङ्गवा रहेका छन्। वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५९३ नं. को यात्रुवाहक EV गाडीमा सवार रहेका उनको पाइन्टको खल्तीबाट प्लास्टिकसहित तौल गर्दा २ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, पर्साको वीरगञ्ज महानगरपालिका–२०, अकौनी बस्ने अन्दाजी २१ वर्षीय कैलाश रायलाई पनि पक्राउ गरिएको छ। वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०३२२ नं. को यात्रुवाहक EV गाडीमा सवार रहेका उनको जिन्स पाइन्टको खल्तीबाट प्लास्टिकसहित ३०० मिलिग्राम तथा प्लास्टिकबाहेक ९० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















