थाहा नगरको खानेपानी गुणस्तरीय: जनस्वास्थ्य कार्यालयको परीक्षणमा शुद्धता प्रमाणित

Image

हेटौंडा / थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको पानीमा शुद्धता रहेको पाइएको छ । वर्षासँगै खानीपानीमा हुनसक्ने संभावित संक्रमणको जाँच गर्न गरिएको पानीको गुणस्तर परीक्षणको नतिजामा शुद्धता पाइएको हो ।

थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले व्यवस्थापन गर्दै आएको विभिन्न १४ वटा मूल मार्फत धारामा झरेको पानीको नमुना परीक्षण गरेको थियो । परीक्षण अनुसार मूलमा जुन शुद्धता छ, सोही गुणस्तरको पानी धारामा पाइएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा खानेपानी गुणस्तर परीक्षण गरिएको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला गोपालीले बताइन् । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले समय समयमा खानेपानी गुणस्तर परीक्षण गर्दै आएको निर्देशक गोपालीको भनाइ छ ।

उपभोक्ताहरुलाई वितरण गर्दे आएको खानेपानीको आधारभूतस्तरका तीनवटा पारामिटरमा खानेपानी परीक्षण गरेको हो । खानेपानीको भौतिक, रासायनिक, तथा सूक्ष्मजीव गरी तीन पारमिटरमा खानेपानी गुणस्तर परीक्षण गरिएको हो । परीक्षणका क्रममा पानीमा हुने धमिलोपन सबै मुहान र धारामा ५ एनटीयु भन्दा कम रहेको पाइएको छ भने पिएचको मात्रा भने फरक फरक पाइएको छ ।
खानेपानी मुहान र धारामा झर्ने पानीमा पिएचको मात्रा समान रहेपनि फरक फरक मुहानमा पिएचको मात्रा पनि फरक पाइएको हो ।

थाहा नगरपालिका १ र २ मा वितरण भएको कुटप्विकल खानेपानी मुहानमा पिएचको मात्र ७ रहेको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख छ । वडा नम्बर १ क्षेत्रमै वितरण हुने कुन्छालको मुहान तथा धारामा पिएचको मात्रा ७.१ रहेको छ । थाहा–३ को राम्चे र बाहुनगाउँ खानेपानी मुहानमा पनि पिएचको मात्रा ७.१ पाइएको छ ।

थाहा नगरपालिकाकै वडा नम्बर ३ क्षेत्रमा वितरण हुने ककरे र वडा नम्बर ८ मा वितरण हुने दामगाडे खानेपानी मुहानमा पिएचको मात्रा ७.२ पाइएको छ । वडा नम्बर ३ र ४ मा वितरण हुने ऋषेश्वर मुहान, वडा नम्बर ३ को डाँडागाउँ र वडा नम्बर १ को कुलगाउँ क्षेत्रमा वितरण हुने मुहान र धाराको पानीमा पिएचको मात्रा ७.३ पाइएको छ । ओखरबजार, थाहा–३ मा वितरण हुने बारबारेखोला मुहान र वडा नम्बर ११ को कुवापानी खानेपानी मुहानको पानीमा पिएचको मात्रा ७.४ रहेको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख छ । थाहा नगरपालिकाको वडा नम्बर ४ किटेनी क्षेत्रको कारुलखोला र ४ नम्बर वडाकै रुप्सेको खानेपानी मुहानको पानीमा पिएचको मात्रा ७.५ रहेको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै ‘सूक्ष्मजीव’ पारामिटर अन्तर्गत परीक्षण भएको कोलीफर्म सबै मुहान र धारामा शुन्य रहेको प्रतिवेदनमा उल्लेख छ । ‘यो सबैभन्दा राम्रो कुरा हो’– जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक इन्सपेक्टर कन्जय कुमार चौधरीले भने । प्रतिवेदन अनुसार खानेपानीमा हुने धमिलोपना ५ एनटीयु भन्दा कम हुनुपर्ने मापदण्ड छ । बोर्डले वितरण गरेको पानीमा उक्त मापदण्ड पालना भएको चौधरीले बताए । साथै, अम्लियता छारियताको स्तर (पिएच) ६.५ देखि ८.५ सम्मको हुनुपर्नेमा बोर्डले वितरण गरेको पानी सोही मापदण्डभित्रै रहेकोले पिउन योग्य पानी रहेको भनाइ छ । खानेपानीको मुहान र धाराको पानीमा सक्रिय क्लोरिनको मात्रा भने कम पाइएको प्रतिवेदनमा उल्लेख छ ।

पानीको गुणस्तर परीक्षणबाट बोर्डले वितरण गरेको खानेपानीमा आधारभूतस्तरको शुद्धता रहेको भन्न सकिने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । परीक्षण नतिजाका आधारमा खानेपानी स्रोतको पानी भौतिक, रासायनिक, तथा सूक्ष्मजीवको अवस्था पिउनयोग्य पानीमा हुनुपर्ने मापदण्डमा आधारित रहेको छ ।

यसैबीच वर्षाका बेला खानेपानी पिउँदा सचेतना अपनाउनुपर्ने जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक इन्सपेक्टर कन्जय कुमार चौधरीको भनाइ छ । पानी कम्तिमा उमालेर खाए मात्र पनि धेरै रोगबाट बच्न सकिने बताउँदै जनस्वास्थ्यमा ख्याल राख्न चौधरीको सुझाव छ ।