जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवा प्रवाह सुधार : ३५ आधुनिक सीसी क्यामेरा जडान, सेवाग्राहीमैत्री पूर्वाधार विस्तार

Image

हेटौंडा / जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अभियानअन्तर्गत ३५ वटा आधुनिक सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको छ। कार्यालयको सुरक्षा सुदृढ बनाउनुका साथै सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले क्यामेरा जडान गरिएको हो।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार यसअघि कार्यालयमा रहेका ६ वटा सीसी क्यामेरा सञ्चालनमा नरहेपछि कार्यालयकै आन्तरिक स्रोत परिचालन गरेर नयाँ क्यामेरा जडान गरिएको हो। सीमित स्रोतसाधनका बाबजुद कार्यालय व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्दै अधिकांश काम आन्तरिक स्रोतबाटै सम्पन्न गरिएको उहाँले बताउनुभयो।

सीडीओ अधिकारीले २०८२ साल कार्तिकमा जिम्मेवारी सम्हालेयता जिल्ला प्रशासन कार्यालयको सेवा प्रणाली र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार भएको छ। कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेलका अनुसार यस अवधिमा सुशासन पार्क निर्माण, राष्ट्रिय परिचयपत्र सेवाका लागि पाँच कोठाको छुट्टै भवन, एसीसहितको विश्राम तथा प्रतीक्षालय, एकीकृत सेवा केन्द्र, नागरिक सहायता कक्ष, टोकन प्रणाली, प्रोजेक्टर, व्यवस्थित पार्किङ, कार्यालय परिसरको सरसफाइ, सेवाग्राहीमैत्री शाखा व्यवस्थापन, शुद्ध खानेपानीका लागि युरोगार्ड, निःशुल्क फाराम भर्ने सेवा तथा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याइएको छ।

यसका साथै कार्यालयको पर्खाल मर्मत तथा अन्य पूर्वाधार सुधारका कामसमेत सम्पन्न भएका छन्। कार्यालयका अनुसार यी सुधारले जिल्ला प्रशासन कार्यालयको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको छ। प्रमुख जिल्ला अधिकारीले आगामी दिनमा पनि सेवाग्राहीलाई अझ प्रभावकारी र सहज सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने बताउनुभयो। उहाँका अनुसार होटल, यातायात कार्यालय, बजारलगायत विभिन्न क्षेत्रको नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको छ। अनुगमनका क्रममा आवश्यकताअनुसार जरिवाना, चेतावनी तथा कानुनबमोजिम कारबाहीसमेत गरिएको उहाँले जानकारी दिनुभयो।

सेवाग्राहीहरूले पनि कार्यालयमा भएको परिवर्तनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। पहिले पर्याप्त बस्ने व्यवस्था नहुँदा वृद्धवृद्धासहितका सेवाग्राही भर्याङ र पेटीमा पर्खिनुपर्ने अवस्था रहेकामा अहिले एसीसहितको सुविधायुक्त प्रतीक्षालयमा सहज रूपमा सेवा लिन पाएको उनीहरूको भनाइ छ।

त्यसैगरी, पहिले एउटै कामका लागि विभिन्न शाखा धाउनुपर्ने झन्झट हटेको उनीहरूले बताएका छन्। अधिकांश सेवा एकीकृत सेवा केन्द्रमार्फत उपलब्ध हुन थालेपछि सेवा प्रवाह छिटो, सहज र व्यवस्थित बनेको सेवाग्राहीहरूको अनुभव छ।