हेटौंडा/ बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मन्त्रिपरिषद्मा हेरफेर गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष कार्यविभाजनको सिफारिस गरेका हुन्।
सत्तारूढ गठबन्धनमा नेकपा (एमाले)सँगको सत्ता समीकरण टुटेपछि गरिएको कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी आफैं सम्हाल्ने भएका छन्।
सिफारिसअनुसार शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय तथा कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा विनु रायमाझी पौडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको कार्यविभाजन स्वीकृत भएसँगै सम्बन्धित मन्त्रीहरूले तोकिएको मन्त्रालयको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नेछन्।












