हेटौंडाका होटल तथा गेष्ट हाउसबाट हुने स्क्यामिङ नियन्त्रण गर्न प्रशासनको कडा निगरानी

Image

हेटौंडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडास्थित विभिन्न होटल तथा गेष्ट हाउसलाई लक्षित गर्दै स्क्यामर तथा अन्य अपराधीहरूको गतिविधिमाथि कडा निगरानी गर्न आग्रह गरेको छ।

पछिल्लो समय होटल तथा गेष्ट हाउसमा ग्राहकका रूपमा बस्ने केही व्यक्तिहरूले अनलाइन सपिङ, अनलाइन जागिर, चिठ्ठा, व्यवसाय, बजार अनुसन्धान, उद्योगमा लगानी तथा होलसेल कारोबारका नाममा सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो।

प्रशासनका अनुसार यस्ता व्यक्तिहरूले पीडितलाई आफ्नो क्यूआर (QR) कोड वा नेपाल तथा भारतस्थित बैंक खातामा रकम जम्मा गर्न लगाई विभिन्न उपाय अपनाएर आर्थिक ठगी गर्ने गरेका छन्। साथै, होटल तथा गेष्ट हाउसमा लामो समय बस्दै त्यहाँको फोन तथा सवारी साधनको प्रयोग गरी विभिन्न व्यक्तिलाई सम्पर्क गरेर जालझेलपूर्ण गतिविधि सञ्चालन गर्ने गरेको गुनासोसमेत प्राप्त भएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले होटल तथा गेष्ट हाउस सञ्चालकलाई शंकास्पद व्यक्तिको गतिविधिमाथि विशेष निगरानी राख्न, उनीहरूको दैनिक तथा रात्रीकालीन गतिविधिप्रति सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नेपाल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा सर्वसाधारणलाई पनि अनलाइन कारोबार, लगानी, रोजगारी वा अन्य आकर्षक प्रस्तावका नाममा रकम माग्ने व्यक्तिबाट सचेत रहन र ठगीको आशंका भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।