हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक ट्याक्टर दु,र्घटनामा एक दलित युवाको मृ,त्यु भएको भनिए पनि घटनाले नयाँ मोड लिएको छ। मृतकका आफन्तले यो सामान्य दुर्घटना नभई घटना लुकाउने, प्रमाण नष्ट गर्ने र दोषी जोगाउने प्रयास भएको आरोपसहित किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३ स्थायी घर भई हाल हेटौँडा–११ थानाभर्याङ बस्दै आएका २२ वर्षीय विक्रम खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ५ बजे हेटौँडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त ०३९७ नम्बरको बालुवा बोकेको ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर पल्टिँदा विक्रमको मृत्यु भएको थियो। उनको शव भने राति करिब १० बजे मात्रै हेटौँडा अस्पताल ल्याइएको थियो।
तर मृतकका आफन्तले प्रहरीको प्रारम्भिक विवरणप्रति असहमति जनाउँदै दुर्घटनापछि तत्काल अस्पताल नलगिएको आरोप लगाएका छन्।
मृतकका भाइ सौभाग्य सुनारका अनुसार विक्रमको शव तन्नामा बेरेर अटोमा राखिएको अवस्थामा फेला परेको थियो। उनका अनुसार साँझ ५ बजेदेखि राति १० बजेसम्म शव विभिन्न स्थानमा घुमाइएको, केही ठाउँमा गाड्ने र पुनः निकाल्ने प्रयाससमेत गरिएको थियो।
आफन्तले ट्याक्टर चालक, ट्याक्टर धनी तथा घटनामा संलग्न अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन्। शव ओसार्न प्रयोग गरिएको अटो र त्यसका चालकको समेत अनुसन्धान गरी घटनामा संलग्न सबैमाथि कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ। दोषीमाथि कानुनी कारबाही र उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले परिवारको किटानी जाहेरीका आधारमा घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टर चालक र ट्याक्टर धनी प्रहरीको सम्पर्कमा रहेका छन् र घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको छ।
डीएसपी काफ्लेले हाल घटनालाई दुर्घटना वा अन्य आपराधिक घटना भन्ने विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको भन्दै अनुसन्धानपछि मात्रै वास्तविकता सार्वजनिक गरिने बताउनुभयो













