हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिक र १ जना नेपालीलाई होटल संचालक पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतको बिहार राज्य, पटना निवासी वर्ष २७ का इन्द्रजित सरकार, वर्ष २० का सहर्षजित सरकार, वर्ष २३ का अमनराज तथा हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित बास्तोला होटलका सञ्चालक वर्ष ३७ का दीपक बास्तोलाले मिलेमतोमा विभिन्न प्रलोभन देखाई अनलाइन माध्यमबाट ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
उक्त सूचनाको आधारमा मिति २०८३/०४/०७ गते हेटौंडास्थित बास्तोला होटलबाट ती भारतीय नागरिकहरू तथा होटल सञ्चालक दीपक बास्तोलालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरूले प्रयोग गरेका मोबाइल डिभाइसहरूमा टेलिग्राम, ह्वाट्सएपलगायतका एपमार्फत समूह (Group) सिर्जना गरी ठगी प्रयोजनका लागि रकमको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट अनलाइन ठगी सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ। ठगिएका व्यक्तिहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।














