हेटौंडा/ हेटौंडा–३ स्थित राई टोल विकास संस्थाको चौथो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौंडा–३ का वडा सदस्य सविना बिडारी, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्य भीम लामा ठिसाङ, वडा समन्वय समिति वडा नं. ३ का अध्यक्ष रोशन गोले लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनले गोमा राईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यक्रममा बोल्दै टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारीले राई टोललाई राई समुदायको पहिचान, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले टोलको सामाजिक एकता र सक्रियतालाई अझ बलियो बनाउँदै स्थानीय कला, संस्कृति र पहिचानलाई पर्यटन तथा आर्थिक गतिविधिसँग जोड्न सके यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।उहाँले टोल विकास संस्थाहरू केवल विकास निर्माणका काममा मात्र सीमित नभई स्थानीय समुदायको पहिचान संरक्षण, सामाजिक सद्भाव, वातावरण संरक्षण र आर्थिक विकासका अभियानमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। नयाँ कार्यसमितिले राई टोलको विकाससँगै समुदायको कला, संस्कृति र मौलिक पहिचानलाई थप उजागर गर्ने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
प्रमुख अतिथि नगर कार्यपालिका सदस्य शंकर राईले टोल विकास संस्था स्थानीय समुदायलाई एकताबद्ध गर्दै विकास निर्माण र सामाजिक अभियानमा सक्रिय बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। राई टोलको विकासका लागि स्थानीय समुदाय, टोल विकास संस्था र स्थानीय सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले संस्थाको आगामी कार्यकाल सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्वाचित कार्यसमितिले टोलको समग्र विकास, सामाजिक एकता, सरसफाइ, संस्कृति संरक्षण तथा समुदायको हितमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












