हेटौंडा-१६ मा टोल विकास संस्था वडा समिति गठन

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेका १६ वटा टोल विकास संस्थाहरूको छाता संस्थाका रूपमा टोल विकास संस्था वडा समन्वय समिति गठन गरिएको छ। बुधबार सम्पन्न भेलाले लीलाधर दाहालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा मोनिका विक, सचिवमा सरस्वती दुलाल, कोषाध्यक्षमा राधा कार्की, सहसचिवमा पार्वती थापा लगायतको चयन हुनु भएको छ ।

कार्यक्रममा  हेटौंडा-१६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुङ्गाना, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रवती पनेरु लगायतको उपस्थिति थियो।

प्रमुख अतिथि रामकृष्ण कोइरालाले टोल विकास संस्था स्थानीय तह र नागरिकबीचको महत्वपूर्ण सेतु भएको बताउँदै वडा समिति गठनसँगै वडाका सबै टोल विकास संस्थाहरूलाई थप सक्रिय र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय विकास, सरसफाइ, सामाजिक एकता तथा नागरिकका समस्या समाधानमा टोल विकास संस्थाहरूको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

विशेष अतिथि ध्रुव प्रसाद अधिकारीले वडाभित्र रहेका टोल विकास संस्थाहरूलाई एउटै छातामुनि संगठित गरी एकीकृत र प्रभावकारी रूपमा परिचालन गर्न वडा समिति महत्वपूर्ण संरचना भएको बताउनुभयो। उहाँले टोल विकास संस्थाहरूलाई सामाजिक जागरण, वातावरण संरक्षण, सरसफाइ, विपद् व्यवस्थापन तथा नागरिक सहभागिता अभिवृद्धिमा समेत अग्रसर बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “टोल बलियो भयो भने वडा बलियो हुन्छ, वडा बलियो भयो भने समग्र नगरको विकास बलियो हुन्छ। त्यसैले प्रत्येक टोल विकास संस्थालाई सक्रिय, सक्षम र एकीकृत रूपमा अघि बढाउनु आवश्यक छ।”

वडा नम्बर १६ मा रहेका सबै टोल विकास संस्थाबीच समन्वय कायम गर्दै विकास निर्माण तथा सामाजिक गतिविधिमा नागरिक सहभागिता बढाउने, टोल विकास संस्थाहरूलाई थप सक्रिय बनाउने र वडाका साझा समस्या समाधानमा सामूहिक पहल गर्ने उद्देश्यले वडा समिति गठन गरिएको हो।