दुःख र पीडामा परिवारको साथ बन्दै हेटौंडा ११ नवलपुरको मानव सेवा कोष

Image

हेटौंडा / २९ वर्षअघि आपसी सहयोग र मानवीय सेवाको उद्देश्यले स्थापना भएको हेटौंडा–११ नवलपुरस्थित मानव सेवा कोष अहिले दुःख र पीडामा परेका परिवारका लागि सहारा बन्दै आएको छ।
वि.सं. २०५५ सालमा स्थापना भएको कोषले हालसम्म आफ्ना ७२ जना सदस्य गुमाइसकेको छ। अहिले भने संस्थामा ८४ जना सदस्य आबद्ध रहेको सचिव भगवान ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

सदस्यको निधन हुँदा परिवारको संस्कारअनुसार काजकिरियाका लागि आवश्यक सामग्री उपलब्ध गराउनेदेखि दुःखको समयमा परिवारलाई साथ दिने काम कोषले गर्दै आएको छ। सदस्यहरूबीचको आपसी सहयोगमा सञ्चालन हुँदै आएको संस्थालाई विभिन्न व्यक्तिहरूबाट समेत सहयोग प्राप्त हुँदै आएको जनाइएको छ।

कोषको २९औँ वार्षिक साधारण सभामा संस्थाको विगतको योगदानसँगै आगामी दिनमा मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहालले मानव सेवा कोषले समुदायमा महत्वपूर्ण सामाजिक भूमिका निर्वाह गरिरहेको बताइन्। आवश्यक पर्दा वडा कार्यालय संस्थाको साथमा रहने प्रतिबद्धता जनाउँदै उनले कोषलाई हेटौंडाकै नमुना सामाजिक संस्थाका रूपमा उल्लेख गरिन्।

हालै रसुवामा भएको बाढीपहिरोको घटनालाई स्मरण गर्दै अध्यक्ष दाहालले विपद् र दुःखको समयमा सरकारी निकायसँगै समुदायस्तरबाट पनि सहयोग र मानवीय भावना आवश्यक रहेको बताइन्।

कोषका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा वडा अध्यक्ष दाहाल, नेपाली सेनामा आबद्ध मिलन घलेलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।