संविधान कार्यान्वयनमा कमजोरी देखिए संविधानलाई दोष दिन नहुने : प्रदेश प्रमुख देवकोटा

Image

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा देखिएका कमजोरीको जिम्मेवारी संविधानमाथि थोपर्न नहुने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शनिबार हेटौँडामा आयोजित समारोहमा बोल्दै उनले संविधानले नेपाली जनताको सपना, आकांक्षा र अधिकारलाई संस्थागत गरेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्ने बताए।

उनले पछिल्लो एक दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै संविधानले व्यवस्था गरेका अधिकार र व्यवस्थालाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिए। संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई राजनीतिक नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

प्रदेश प्रमुख देवकोटाले राज्यका संयन्त्रमा जिम्मेवारी सम्हाल्नेहरूले अधिकारभन्दा कर्तव्य र दायित्वलाई प्राथमिकता दिनुपर्ने बताए। सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता व्यवहारमै देखिनुपर्ने उल्लेख गर्दै उनले कानुनी राज्यको उपहास हुने अवस्था आउन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पनि संविधानको सफलता घोषणामा नभई कार्यान्वयनबाट देखिने बताए।
उनले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई प्रदेशका प्रमुख चुनौतीका रूपमा औँल्याए।

नागरिकको असन्तुष्टिलाई आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कामबाट सम्बोधन गर्नुपर्ने मुख्यमन्त्री थापाको भनाइ थियो। संघीयता सुदृढीकरणका लागि प्रदेशका संवैधानिक अधिकारको कार्यान्वयन, आवश्यक कानुन निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था हुनुपर्ने उनले बताए।
समारोहमा विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो।