हेटौंडा/ हेटौँडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्र) प्रदेश राजधानी हेटौँडाको पहिचानसँग जोडिएको महत्वपूर्ण खुला क्षेत्र हो। मुख्य सहरको एकमात्र खुला चौरका रूपमा रहेको हुप्रलाई प्रदेशकै उत्कृष्ट खुला चौर बनाउने लक्ष्यका साथ विभिन्न कामहरू भइरहेको हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभएको छ।
लोकतान्त्रिक (हुप्र) चौरको संरक्षण तथा व्यवस्थापन गर्दै सफा, सुन्दर र सुरक्षित बनाउनु सबैको कर्तव्य रहेको उहाँको भनाइ छ। चौरमा नियमित सरसफाइ, मर्मत तथा रङरोगन, ज्येष्ठ नागरिक कक्ष निर्माण, हिँड्ने ट्र्याक निर्माण, निःशुल्क शौचालय निर्माण तथा सञ्चालन, खुला जिमको व्यवस्थापन र हाइमास्ट बत्ती जडानलगायतका काम सम्पन्न भइसकेका छन्।
वडा अध्यक्ष सिग्देलका अनुसार चौरमा गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, खुला जिमका सामग्री मर्मत तथा थप गर्ने, विभिन्न स्थानमा सुविधाजनक बस्ने स्थान निर्माण गर्ने, हरियाली प्रवर्द्धन गर्ने तथा चौरलाई थप आकर्षक बनाउन सजावटका कामहरू भइरहेका छन्।
दैनिक हजारौँ मानिसको आवतजावत हुने चौरलाई सधैँ सफा, व्यवस्थित र सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको वडा अध्यक्ष सिग्देलले बताउनुभयो।














