हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले शैक्षिकसँगै भौतिक पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ। विद्यालयको ५८औँ अभिभावक भेलामा विद्यालयमा भइरहेका तथा आगामी योजनाका रूपमा अघि बढाइएका पूर्वाधार विकासका कामबारे जानकारी गराइएको हो।
शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि र विकास योजनाबारे छलफल गरिएको थियो।
विद्यालयका अनुसार ‘मेगा विद्यालय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत १२ कोठे भवन निर्माणका लागि हेटौँडा उपमहानगरपालिकासँगको लागत साझेदारीमा ३ करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको छ। भवन निर्माणको काम छिट्टै सुरु हुने जनाइएको छ।
त्यस्तै, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ मा मेगा विद्यालय पूर्वाधार विकासका लागि ३० लाख रुपैयाँ र ‘भुटनदेवी आईटी पार्क’ निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको विद्यालयले जनाएको छ। हेटौँडा उपमहानगरपालिकाको सहयोगमा ३५ लाख रुपैयाँ लागतको फलैँचा निर्माणसमेत सुरु भएको छ।
विद्यालयमा यसअघि चमेना गृह, किड्स जोन र स्टाफ रुम निर्माण भइसकेका छन्। आरओ प्रणालीमार्फत शुद्ध खानेपानीको व्यवस्था गरिएको छ भने हेटौँडा–४ वडा कार्यालय, बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विद्यालयको संयुक्त लगानीमा प्राविधिक भवनको पहिलो तला निर्माण सम्पन्न भएको प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार हेटौँडा–४ बाट १५ लाख, प्रदेश सरकारबाट ६५ लाख र विद्यालयबाट करिब ५५ लाख रुपैयाँको लगानीमा प्राविधिक भवन निर्माण गरिएको हो। विद्यालय परिसरमा इन्टरलक बिछ्याउने, ढल तथा बगैँचा निर्माण, शौचालय, रंगरोगन र गेट स्तरीकरणलगायतका काम पनि अघि बढिरहेका छन्।
भेलालाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री पौडेलले भुटनदेवी विद्यालयलाई लामो इतिहास बोकेको शैक्षिक संस्थाका रूपमा उल्लेख गरे। उनले विद्यार्थीको शैक्षिक सफलतामा विद्यालय र शिक्षकसँगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने बताए।
उच्च जीपीएलाई मात्र विद्यार्थीको सफलताको आधार बनाउन नहुने भन्दै पौडेलले संस्कार, अनुशासन र नैतिक शिक्षालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए। सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन आवश्यक रहेको उनको भनाइ थियो।
विद्यालयले शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिसकेको जनाएको छ। कार्यक्रममा हेटौँडा–१० का अध्यक्ष फुर्वादोर्जे लामा, नेकपा (एमाले) हेटौँडा–४ का पूर्वअध्यक्ष जगन्नाथ बास्ताकोटीलगायतको उपस्थिति थियो।















