क्रिकेटर मनीषा उपाध्याय रु. ६० हजारको खेल सामग्रीसहित सम्मानित, अर्घाखाँचीमा ‘स्व. रमा देवी स्मृति कप T10’ हुँदै

Image

काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई रु. ६० हजार बराबरको क्रिकेट सामग्रीसहित सम्मान गरिएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ताको विशेष पहल तथा आयोजक समितिका पदाधिकारीहरूको उपस्थितिमा मनीषालाई क्रिकेट किट हस्तान्तरण गरिएको हो।

नेपाली महिला क्रिकेटमा मनीषाले देखाएको लगनशीलता, समर्पण तथा उत्कृष्ट प्रदर्शनको कदर गर्दै उनलाई उक्त प्रायोजन तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मान ग्रहण गर्दै मनीषाले यस प्रकारको प्रोत्साहनले आफूलाई मैदानमा अझ उत्कृष्ट प्रदर्शन गर्न थप हौसला मिलेको बताइन्।

अर्घाखाँचीमा ‘स्व. रमा देवी स्मृति कप T10’

यसैबीच, अर्घाखाँचीको सन्धीखर्कमा आगामी अक्टोबर १३, २०२६ (२०८३ असोज २७ गते) देखि ‘स्व. रमा देवी स्मृति कप T10 क्रिकेट टुर्नामेन्ट’ आयोजना हुने भएको छ।

पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो। ‘Play for Passion, Play for a Cause’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा दर्शकका लागि निःशुल्क प्रवेश (Free Entry) को व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेताले रु. १ लाख तथा उपविजेताले रु. ६० हजार पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै, म्यान अफ द सिरिजलाई रु. १५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई समान रु. ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. २,१०० पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता निर्देशक राज छेत्रीका अनुसार स्थानीय स्तरमा क्रिकेटको माहोल सिर्जना गर्ने, नयाँ प्रतिभालाई अवसर दिने तथा नेपाली क्रिकेटमा योगदान पुर्‍याउने खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

अर्घाखाँचीमा हुने प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।