एमाले मकवानपुर र हेटौँडाको लेखा परीक्षण, हिसाब पारदर्शी रहेको निष्कर्ष

Image

हेटौँडा । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटौँडा उपमहानगरपालिका कमिटीको अन्तिम लेखा परीक्षण सम्पन्न भएको छ। अन्तिम लेखा परीक्षणअघि जिल्ला र नगरका लेखा कमिटीले आन्तरिक लेखा परीक्षण गरेका थिए।

केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले जिल्ला तथा नगर कमिटीको अन्तिम लेखा परीक्षण गरेका हुन्। आयोगले तयार पारेको लेखा परीक्षण प्रतिवेदन मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामा र हेटौँडा उपमहानगरपालिका कमिटीका उपाध्यक्ष राजकुमार बाँस्तोलालाई हस्तान्तरण गरिएको छ।

प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले पार्टीको केन्द्रीय लेखा आयोगले प्रदेश, जिल्ला तथा पालिका तहसम्मका कमिटीको लेखा परीक्षण गर्ने व्यवस्था रहेको बताइन्।

लेखा परीक्षणका क्रममा दोहोरो लेखा प्रणालीअनुसार हरहिसाब व्यवस्थित रूपमा राखिएको, आम्दानीमा पारदर्शिता कायम गरिएको र खर्च मितव्ययी रहेको पाइएको उनले बताइन्। लेखालाई थप व्यवस्थित बनाउन केही सुझाव दिँदै पाख्रिनले लेखा परीक्षणमा सहयोग गर्ने सबैलाई आयोगको तर्फबाट धन्यवाद दिइन्।

केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मकवानपुर जिल्ला कमिटीले विगतदेखि नै लेखासम्बन्धी नियमअनुसार हरहिसाब व्यवस्थित गर्दै नियमित रूपमा लेखा परीक्षण गराउँदै आएको बताए।
उनका अनुसार बागमती प्रदेशअन्तर्गतका १० जिल्लामध्ये मकवानपुर र पालिकामध्ये हेटौँडा उपमहानगरपालिकाबाट लेखा परीक्षण सुरु गरिएको हो। अन्य जिल्ला तथा पालिका कमिटीको लेखा परीक्षण मंसिर मसान्तसम्म सम्पन्न गरिने उनले जानकारी दिए।

सिग्देलले मकवानपुर जिल्लामा राजनीतिक दलहरूमध्ये पार्टीको आन्तरिक हरहिसाब व्यवस्थित र पारदर्शी रूपमा राख्नेमा एमाले पहिलो रहेको दाबीसमेत गरे।

लेखा परीक्षण प्रतिवेदन हस्तान्तरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेकुमार बर्तौला, प्रदेश कमिटी सदस्य बलराम बललगायत जिल्ला कमिटी र हेटौँडा उपमहानगरपालिका कमिटीका पदाधिकारीहरूको उपस्थिति थियो।

लेखा परीक्षणका क्रममा प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले प्राविधिक सहयोग गरेका थिए।