हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ ईपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसले पैदलयात्री भिमफेदी गाउँपालिका–८ ईपा निवासी ६३ वर्षीया लीलादेवी खत्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार खत्री सोही बसमा सवार भएर आएकी थिइन्। बसबाट ओर्लिएपछि बसको अगाडिबाट बाटो काट्ने क्रममा उनलाई सोही बसले ठक्कर दिएको थियो। ठक्करबाट उनको टाउकोमा चोट लागेको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमफेदी र ठिङ्गनबाट ट्राफिकसहित २० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बिहान ८:५५ बजे घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
बस घटनास्थलमै रहेको र चालक भिमफेदी गाउँपालिका–७ कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















