व्यक्ति विशेषका योजना प्रदेश बजेटमा पर्दैनन् : मुख्यमन्त्री थापा मगर

Image

हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अब प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना छनोट नगर्ने बताउनुभएको छ। उहाँले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिएर कार्यान्वयन गर्ने प्रदेश सरकारको नीति रहेको स्पष्ट पार्नुभयो।

जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले व्यक्ति विशेषका योजनालाई प्राथमिकता दिँदा प्रदेशमा टुक्रे योजनाको सङ्ख्या अत्यधिक बढेको बताउनुभयो। यस्ता योजना कार्यान्वयन गर्न कठिन हुनुका साथै प्रदेश सरकारको लगानीसमेत देखिने अवस्था नरहेको उहाँको भनाइ थियो।

“अब प्रदेश सरकारले व्यक्ति विशेषका योजना समावेश गर्दैन। स्थानीय तहबाट आएका योजनामा मात्र काम गर्छ। व्यक्ति विशेषका योजना समावेश गर्दा धेरै टुक्रे योजना बने। ती योजना पूरा गर्नै नसकिने अवस्था देखियो,” उहाँले भन्नुभयो।