सोनी पाख्रिनको कप्तानी इनिङ्समा नेपाल यू-१९ महिला टोलीको शानदार जित, हङकङ ९२ रनले पराजित

Image

काठमाडौं। नेपाल यू-१९ महिला क्रिकेट टोलीले Women’s U19 Belt & Road Series 2026–27 अन्तर्गत हङकङ, चीन यू-१९ विरुद्ध ९२ रनको शानदार जित हात पारेको छ।

आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका लागि कप्तान सोनी पाख्रिनले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ६२ रन बनाइन्। उनले ४४ बलमा ३ चौका र ५ छक्का प्रहार गरिन्।

त्यस्तै, सबिता धामीले ३० बलमा ४ चौकासहित ४० रनको योगदान दिइन् भने त्रिसा विश्वकर्माले २८ रन जोडिन्। यी तीन खेलाडीको महत्वपूर्ण योगदानमा नेपालले प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।

१४७ रनको लक्ष्य पछ्याएको हङकङ, चीन यू-१९ नेपाली बलरहरूसामु टिक्न सकेन। हङकङको टोली १८ ओभरमा मात्र ५४ रनमा समेटियो। उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि मनिषा चौधरीले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै, रिया शर्मा र एस यादवले २–२ विकेट हात पार्दा रचना चौधरी र टिका शाहले समान १ विकेट लिए।