हेटौँडा । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुरको रातोमाटे चेकपोस्टमा गरिएको लापसे परीक्षणमा तीन जना चालकमा लागुऔषध सेवन पुष्टि भएको छ।
प्रहरीले ५१ जना चालकलाई परीक्षण गर्दा तीन जनामा पोजेटिभ नतिजा आएको हो। पोजेटिभ देखिएका चालकहरू वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेका दुई विद्युतीय सवारी (ईभी) र एक टाटा सुमोका चालक रहेको प्रहरीले जनाएको छ।
लापसे परीक्षणमा पोजेटिभ देखिएपछि प्रहरीले तीनै जना चालक र उनीहरूले चलाएका सवारीसाधन नियन्त्रणमा लिएको छ। सवारीसाधन नियन्त्रणमा लिएपछि यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन प्रहरीले वैकल्पिक सवारीको व्यवस्था गरेको थियो।
लामो दूरीको यात्रामा चालकको लापरबाहीले यात्रुको ज्यान जोखिममा पर्न सक्ने भएकाले प्रहरीले सवारी चालकको स्वास्थ्य अवस्था र लागुऔषध तथा मादक पदार्थ सेवनबारे निगरानी बढाएको जनाएको छ।
















