एनपिएल इतिहासकै उच्च स्कोर: पोखरा एभेन्जर्सद्वारा काठमाण्डु गोर्खाजसामू २२५ रनको विशाल लक्ष्य

Image

कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले ऐतिहासिक र सनसनीपूर्ण प्रदर्शन गर्दै काठमाण्डु गोर्खाजसामू जितका लागि विशाल २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ। यो स्कोर एनपिएलको इतिहासमा कुनै पनि टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको योगफल तयार पारेको हो।

पोखराका लागि ओपनरद्वय कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट तथा आक्रामक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याएका थिए। कुशल भुर्तेलले मात्र ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै ९९ रनको उत्कृष्ट पारी खेले। उनी शतक बनाउने संघारमा पुगेर मात्र १ रनले चुके।

त्यस्तै, युवराज सिंह साम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्काको मद्दतले ८९ रनको महत्त्वपूर्ण योगदान दिए। इनिङ्सको अन्त्यतिर कप्तान चमिका करुणारत्नेले थप आक्रामक रूप धारण गर्दै मात्र ७ बलमा १ चौका र २ छक्कासहित अविजित १९ रनको विस्फोटक पारी खेले।

काठमाण्डु गोर्खाजका बलरहरू पोखराका ब्याटरसामू पूर्ण रूपमा दबाबमा देखिए। काठमाण्डुतर्फबाट करण केसीले २ विकेट लिए भने जाहादद खानले १ विकेट हात पारे।