हेटौँडा–१५ मा स्नुकर खेलको प्रतिस्पर्धा, १८ खेलाडी मैदानमा

Image

हेटौँडा । स्थानीय स्तरमा स्नुकर खेलको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित हेटौँडा–१५ मा वडास्तरीय स्नुकर च्याम्पियनसिप सुरु भएको छ।

हेटौँडा–१५ खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको ‘१५ नं. वडास्तरीय स्नुकर च्याम्पियनसिप–२०८३’ मा वडाका १८ जना खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन्।

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका स्थानीय सुमनलाल गोले र रमेश मगरको स्मृतिमा आयोजित प्रतियोगिताको सोमबार पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले उद्घाटन गर्नुभयो।

उद्घाटन गर्दै श्रेष्ठले वडा तहमा खेलकुद गतिविधि विस्तार हुनु सकारात्मक भएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले स्थानीय युवाको प्रतिभा उजागर गर्नुका साथै खेलकुदलाई व्यावसायिक बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।

वडाध्यक्ष सुनिल मोक्तानले स्थानीय युवाको मागअनुसार प्रतियोगिता आयोजना गरिएको बताउँदै स्नुकर खेललाई वडा हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

प्रतियोगिताको फाइनल मङ्सिर ४ गते हुनेछ। विजेताले ३० हजार, उपविजेताले १५ हजार तथा सेमिफाइनल पुग्ने दुई खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हाइएस्ट ब्रेकरलाई समेत ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।