हेटौँडा । नदी सभ्यता संरक्षण र जलचर तथा वन्यजन्तुको जीवन रक्षा गर्ने उद्देश्यले हेटौँडामा नगर प्रमुखसहित विभिन्न क्षेत्रका अभियन्ताहरू राप्ती नदी सरसफाइ अभियानमा जुटेका छन् ।
डिभिजन वन कार्यालय हेटौँडाको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सोमबार चौथो राप्ती नदी सरसफाइ दिवस मनाउँदै हेटौँडा–१० स्थित राप्ती नदी क्षेत्रमा सरसफाइ गरिएको हो ।
‘स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान’ भन्ने नारासहित आयोजित अभियानमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अभियन्ताहरूको सहभागिता रहेको थियो ।
२०७२ सालदेखि मकवानपुरको भीमफेदी र हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुँदै आएको राप्ती सरसफाइ महाअभियानअन्तर्गत हरेक वर्ष मंसिर १ गते विशेष सरसफाइ कार्यक्रम गरिँदै आएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले राप्ती नदीको स्वच्छता गैँडा, हात्ती, डल्फिनलगायत वन्यजन्तु तथा जलचरको जीवनसँग जोडिएको बताउनुभयो । नदीमा फालिने प्लास्टिक तथा अन्य फोहोरले पानीको गुणस्तर बिगार्नुका साथै जलचर र वन्यजन्तुको स्वास्थ्यमा समेत असर पारिरहेको उहाँले उल्लेख गर्नुभयो ।
धार्मिक पूजासामग्री नदीमा विसर्जन गर्ने, औद्योगिक तथा होटलजन्य फोहोर खोलामा फाल्ने र नदी क्षेत्रमा हुने अव्यवस्थित गतिविधिले प्रदूषण बढाएको उहाँको भनाइ थियो । उहाँले वार्षिक अभियानमा मात्र सीमित नभई मासिक र दैनिक रूपमा नदी सफा राख्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सरसफाइमा सहभागी हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले राप्ती नदीको संरक्षण गर्न सके समग्र जीवजगत्को संरक्षणमा योगदान पुग्ने बताउनुभयो । नदी सफाइलाई कुनै विशेष दिवसमा मात्र सीमित नगरी दैनिक अभियानका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
वन अधिकृत वसन्तराज गौतमका अनुसार सोमबार मकवानपुरका तीन स्थानमा एकैसाथ नदी सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।















