गोल्डेन क्याप विजेता रिजनलाई आफ्नै कलेजमा भव्य स्वागत

Image

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेजले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ।

आफ्ना पूर्वविद्यार्थी ढकाललाई कलेजका प्राचार्य पूरणबहादुर जोशीले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सम्मान गर्नुभएको हो।
सम्मान कार्यक्रममा कलेजका विद्यार्थीहरूले रिजनलाई उत्साहपूर्वक स्वागत गरेका थिए। उनलाई भेट्न, तस्बिर खिच्न र अटोग्राफ लिन विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै १७ विकेट लिन सफल ढकालले गोल्डेन क्याप प्राप्त गर्नुका साथै कार र मोटरसाइकलसमेत जितेका थिए। आफ्नै कलेजमा भएको स्वागत तथा सम्मानले रिजनको सफलतामा थप खुसी र उत्साह थपेको छ।

पूर्वविद्यार्थीको खेलकुद सफलतालाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरेको कलेजले रिजनको उपलब्धिलाई संस्थाकै गौरवका रूपमा लिएको छ।