सुदूरपश्चिमका यी ८ जिल्लामा आज एमालेको जिल्ला अधिवेशन हुँदै; को-को छन् अध्यक्षका आकांक्षी

Image

२३ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा आज नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ । कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा आज जिल्ला अधिवेशन हुन लागेको हो ।

दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । बझाङमा भने केही समय पछि अधिवेशन हुने एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

कुन जिल्लामा को-को आकांक्षी ?

१. कैलाली

कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला सचिवालय सदस्य डेजी पाण्डे आकांक्षी देखिएका छन् ।

२. कञ्चनपुर

कञ्चनपुरमा वर्तमान अध्यक्ष वीरबहादुर थापा र सचिव सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिएका छन् । थापा तत्कालीन नेकपा हुँदा समेत कञ्चनपुरका अध्यक्ष थिए भने बिष्ट भीमदत्त नगरपालिकाका मेयर हुन् । दुवै जनाले अध्यक्षमा दाबी गरेका छन् ।

३. डडेल्धुरा

डडेल्धुरामा चार जनाले अध्यक्षमा दाबी गरेका छन् । वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल अध्यक्षका आकांक्षी देखिएका छन् ।

४. बैतडी

बैतडीमा पनि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन् ।

५. दार्चुला

दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी, नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।

६. बाजुरा

बाजुरामा कालीबहादुर शाही, भरत थापा, र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । शाही वर्तमान अध्यक्ष हुन् ।

७. अछाम

अछाममा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैसी अध्यक्षका आकांक्षी छन् ।

८. बझाङ

बझाङमा भने अहिलेसम्म अध्यक्षमा आकांक्षी खुलिसकेका छैनन् । एमाले जिल्ला सदस्य नवराज भट्टका अनुसार अहिले नेताहरु संगठन विस्तारका लागि स्थानीय तह केन्द्रित भएका कारण आकांक्षी खुलेका छैनन् ।