भारतीय गायक बप्पी लहरीको निधन

Image

एजेन्सी । भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। बुधबार बिहान मुम्बईस्थित सिटी केयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ७० वर्षीया लहरी भारतीय संगीतका चर्चित हस्ती हुन्।

भारतको गीत संगीतमा ‘बप्पी दा’ को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो। सांगीतिक माहौल भएको परिवारमा उनको जन्म भएको थियो। बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक थिए भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार हुन्।

१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए। बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिएका लहरीलाई भारतको डिस्को बादशाह समेत भनिन्थ्यो। सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुत हुँदा गला र हातमा सुनका ठूल्ठूला सिक्री लगाएर प्रस्तुत हुने बप्पी दा गहना र नगद बाँड्ने कामका लागि पनि चर्चित थिए।