लगातार सात खेल हारेपछि के भन्छन् रोहित? धोनीको फिनिसिङको गरे प्रशंसा

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बई इण्डियन्सले लगातार सातौँ हार बेहोरेको छ । गएराति चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध ३ विकेटले पराजित भएसँगै उसले लगातार सात खेलमा हार बेहोरेको हो ।

मुम्बईले आईपीएल इतिहासमा पहिलोपटक यति खराब प्रदर्शन गरेको हो । यो हारसँगै प्लेअफ पुग्ने मुम्बईको सम्भावना लगभग समाप्त भएको छ । मुम्बईका कप्तान रोहित शर्माले पनि यो हारपछि सम्भावना लगभग सकिएको बताएका छन् ।

‘चेन्नईविरुद्धका खेल हाम्रो लागि निकै महत्वपूर्ण थियो । तर, हामी फेरि ब्याटिङमा चुक्यौं । हाम्रा बलरहरूले भने मुम्बईलाई म्याचमा राखे । तर, अन्तिममा महेन्द्र सिंह धोनी कति महत्वपूर्ण हुन सक्छन् भन्ने थाहा छ । र, उनले चेन्नईलाई जित दिलाए,’ रोहितले खेल सकिएपछि भनेका छन्, ‘कुनै पनि कुरामा औंला उठाउन गाह्रो छ । तर, हामी खेलमा राम्रो सुरुवात गर्न सकेका छैनौं ।’

रोहितले अगाडि थपे, ‘यदि तपाईले छिटो विकेट गुमाउनुभयो खेल पनि गुमाउने सम्भावना उत्तिकै हुन्छ । हामीले दबाबका बाबजुद राम्रो पनि गर्यौं । हामीले बलिङमा पनि अन्तिम ओभरसम्म चेन्नईलाई दबाबमा राख्यौं । तर, प्रिटोरियस र धोनीले खेल जिताए ।’

आफ्नो सातौँ खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर भेट्टायो । उसका लागि अम्बाती रायडूले ४०, रोबिन उथप्पाले ३०, महेन्द्रसिंह धोनीले अविजित २८, ड्वेन प्रिटोरियसले २२, शिवम् दुबेले १३ र मिचेल सान्टनरले ११ रन बनाए ।

चेन्नईको जितमा धोनी र प्रिटोरियसले उत्कृष्ट फिनिसिङ गरे । अन्तिम ओभरमा चेन्नईलाई जितको लागि ६ बलमा १७ रनको आवश्यकता थियो । यस ओभरको पहिलो बलमा चेन्नईले प्रिटोरियसलाई गुमायो । दोस्रो बलमा ड्वेन ब्रावोले एक रन लिँदै धोनीलाई स्ट्राइक दिए ।

धोनीले तेस्रो बलमा छक्का र चौथो बलमा चौका हिर्काउँदै खेलाई जित नजिक पुर्याए । पाँचौं बलमा उनले दुई रन जोडे । धोनीले अन्तिम बलमा चौका हिर्काउँदै चेन्नईलाई रोमाञ्चक जित दिलाए । मुम्बईका लागि डानियल साम्सले चार, जयदेव उनादकटले दुई र रिले मेरिडिथले एक विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो ।डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो । उसका लागि युवा ब्याटर तिलक वर्माले अर्धशतकीय पारी खेले ।

उनले ४३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा नटआउट ५१ रन बनाए । १९ वर्षीय तिलकले कठिन समयमा अर्धशतकीय पारी खेलेका हुन् । जारी लिगमा उनको यो दोस्रो अर्धशतक हो । त्यस्तै, जयदेव उनादकटले उत्कृष्ट पारी खेले । उनले ९ बलमा एक चौका र एक छक्कासहित अविजित १९ रन बनाए ।

सूर्यकुमार यादव ३२, ऋतिक शोकिन २५ र किरण पोलार्ड १४ रनमा आउट भए । कप्तान रोहित शर्मा र इशान किशनले भने खाता खोल्न सकेनन् । चेन्नईका लागि मुकेश चौधरीले उत्कष्ट बलिङ गरे । उनले ३ ओभरमा १९ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए ।

त्यस्तै, ड्वेन ब्रावोले दुई, महेश थिक्क्षणा र मिचेल सान्टनरले एक/एक विकेट हात पारे । यो जितसँगै चेन्नईले चार अंक जोडेको छ । ऊ अंक तालिकाको नवौँ स्थानमा छ । यता पाँचपटकको आइपिएल विजेता मुम्बईको भने यो लगातार सातौँ हार हो । योसँगै प्लेअफ पुग्ने मुम्बईको सपना लगभग समाप्त भएको छ ।