२१ वर्षका बशिष्ट : पार्टी कार्यालय टेकेका छैनन्, गाउँपालिका प्रमुख जितिसके

Image

वीरगञ्ज ।

२१ वर्षीय बशिष्ट कुमारलाई राजनीतिमा आउने इच्छा त थियो, तर पढाइले गर्दा उनको त्या इच्छा पूरा हुन सकिरहेको थिएन । यसवर्ष उनलाई मौका मात्रै मिलेन, मौकामा चौका हैन, एकैपटक छक्का हाने । २१ वर्ष २ महिनामा स्थानीय सरकारको बागडोर अहिले उनको हातमा आएको छ ।

पुराना राजनीतिका खेलाडीहरुलाई पछाडि पार्दै उनले कालिकामाई गाउँपालिकाको नेतृत्व लिएका हुन् । भारत पटनाको सेन्ट जेभियर कलेजबाट बीबीए अध्ययन सकाएर घर फर्किएका उनले गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । उनलाई कालिकामाई गाउँका बासिन्दाले नेतृत्वमै पुर्‍याएका छन् ।

‘परिवार नै राजनीतिमा थिए, मेरो रुची पहिल्यैदेखि राजनीतिमा थियो । एकातिर पढाइ थियो, अर्कोतिर उमेर पुगिरहेको थिएन,’ उनले भने, ‘अब म राजनीतिमा आइसकेको छु, आफ्नो गाउँ समाजका लागि धेरै राम्रो काम गर्छु । त्यसमा कसैले कुनै शंका गर्नुपर्दैन ।’

गाउँपालिका अध्यक्ष बनेपछि समाज परिवर्तनका लागि काम गरेर देखाउने उनको अठोट छ । ‘समाजलाई कसरी शिक्षित बनाउने, कसलाई कसरी मद्धत गर्ने, के आवश्यकता छ त्यो पूरा गर्ने, शिक्षामा सुधार गर्ने, स्वास्थ्य र खेलकुद क्षेत्रमा परिवर्तन पाउनुहुन्छ’ उनले भने ।

बशिष्टको आमा लालसादेवी कलवार २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट कालिकामाई गाउँपालिका अध्यक्षमा उठेकी थिइन् । उनी नेपाली जनता दलका स्व. नथुनी प्रसादसँग ११९ मतले पराजित भइन् । नथुनीले २ हजार ८१६ मत ल्याउँदा उनले २ हजार ६९७ मत पाएकी थिइन् ।

गाउँपलिकाको नेतृत्व गरेर गाउँको विकास गर्ने आमा लालसाको सपना पूरा गर्ने जिम्मेवारी अब बशिष्टले पाएको छ।पार्टीको तर्फबाट टिकट दिलाउने भूमिका खेलेका उनकै काका दिनेशप्रसाद कलावारले भने, ‘बशिष्ट पार्टी कार्यालयसम्म पनि पुगेका छैनन्, भारतमा बीबीए सकेर फर्किए लगत्तै उनले उम्मेदवारी दिएका हुन् । पढेलेखेको छ, गाउँको विकासका लागि काम गर्छ भन्ने पूर्ण विश्वास छ ।’

राजनीतिमा नयाँ भएपनि पढेलेखेको केटो भएकोले आफ्नो र पार्टीको नेताहरुको सर सल्लाहमा अघि बढेको खण्डमा उसले गाउँको विकास गर्न सक्ने उनको विश्वास छ ।

संयोगले टिकट पाए, उचाइमा पुगे

जसपाका जिल्ला तहका नेताहरु कालिकामाईको अध्यक्षमा कसलाई उठाउने अन्योलमा थिए । लालसालाई नै पुनः उठाउने कुरा हुँदा उनी इच्छुक थिइनन् । गाउँपालिकाका स्वास्थ्य संयोजक जोगिन्द्र चौरसिया पनि राजनीतिमा आउन चाहान्थे । उनले टिकटका लागि जसपाका नेताहरुसँग अनुरोध समेत गरेका थिए । तर वातावरण उनले सोचे अनुसार भएन । पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे ।

जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदिप यादव गाउँपालिका अध्यक्ष दिनेशकै आग्रहमा बशिष्टलाई टिकट दिइएको बताउँछन् । ‘दिनेश जी पार्टीको जिम्मेवार नेता हो, नयाँ केटा छ, काम गर्न सक्छ । सानो भएपनि राजनीतिक ज्ञान छ । विकास गर्न सक्छ टिकट दिनुस् भनेर माग गर्नुभयो,’ उनले भने, ‘उहाँको आग्रहलाई हामीले टार्न सकेनौं, टिकट दियौं, राम्रो भो जित्नुभयो । ’

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले एउटा जुझारु युवा राजनीतिमा आउनु खुशीको कुरा भएको बताए । उनले भने, ‘ बाहिर बसेर पढेपनि गाउँमा आउँदा सामाजिक काममा उनले रुची राख्ने गरेको रहेछ । त्यसैले उनी विजयी भए ।’