फिफाद्वारा भारतीय फुटबलमाथि प्रतिबन्ध, यी प्रतियोगिता अब खेल्न पाउने छैन

Image

काठमाडौं ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ। फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।

यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि सर्ने भएको छ ‌‌। फिफाले पछिल्लो समय भारतको एफएलाई सहमति भएको रोडम्यापबाट ‘विचलित’ भएमा प्रतिबन्धको चेतावनी दिदै आएको थियो । तर, भारतको एफएमा पटक पटक विधान विपरित कार्य हुँदै आएको थियो ।

गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसपछि फिफा र एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी महासचिव विन्डसर जोनको नेतृत्वमा एउटा टोलीलाई भारतीय फुटबल सरोकारवालासँग छलफलका लागि पठाएको थियो ।

उक्त टोलीले एआईएफएफले आफ्नो विधानलाई जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्ने र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्ने मार्गचित्र तयार गरेको थियो ।

तर, भारतीय अदालतले तुरुन्तै चुनाव गराउन आदेश दिएको थियो । साथै निर्वाचित समिति तीन महिनाको अवधिको लागि अन्तरिम निकाय हुने पनि बताएको थियो ।

अब एआईएफएफको आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्ने फिफाले जनाएको छ ।

यो पनि : भारतीय फुबटलमाथि फिफाले प्रतिबन्ध लगाएपछि यस्तो भन्छन् अल्मुताइरी