काठमाडौँ । नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन् । शनिबार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ बिरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा अनिलले उक्त प्रतिक्रिया दिएका हुन् ।
सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको तर आफ्नो नाम देख्दा आँसु आएको बताए । टिममा नाम देख्ने बित्तिकै घर परिवारसँग खुसी साटेको पनि उल्लेख गरे ।
साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताए । उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए ।
ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै सम्हालिएर खेलेको जिकिर गरे । सुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो ।
यस्तै, जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे । विश्वकप अगाडि वेस्ट इन्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्त्वपूर्ण हुने उनको विश्वास छ ।














