सन्दीपको मुद्दामा आज के-के भयो र क-कसले सके बहस? अब के हुन्छ ?

Image

काठमाडौँ । सन्दीप लामिछानेको मुद्दामा वादी र प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गरेका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा सुरुमा दुई सरकारी वकिलले बहस गरेका थिए ।

त्यसपछि सन्दीप पक्षका ५ वकिलको बहस सकिएपछि फेरि गौशाला २६ का निजी दुई वकिलले बहस गरे । सन्दीप पक्षका कानुन व्यवसायीले बहस सक्न बाँकी छ । सन्दीपका पक्षबाट वरिष्ठ अधिवक्ता मुरारी सापकोटा, कृष्ण सापकोटा, शम्भू थापा, रामनारायण बिडारी, रमण श्रेष्ठले बहस गरे । त्यसपछि गौशाला २६ का निजी वकिलहरूले बहस गरे । अब सन्दीपका वकिल सविता भण्डारी र सरोज घिमिरेको बहस बाँकी छ।

सन्दीपका तर्फबाट बहस गरेका कानुन व्यवसायीले जिल्ला अदालत काठमाडौंको फैसलमाथि प्रश्न उठाए । उनीहरूले प्रमाणबेगर सन्दीपलाई दोषी ठहर गरिएको जिकिर गरे । मंगलबार पहिलो नम्बरमै राखेर भइरहेको सुनुवाइ ६ घण्टाभन्दा लामो समयदेखि जारी छ ।

साँझ ५ बजेपछि समेत सुनुवाइ जारी रहेकाले आजै आदेश आउने अड्कलबाजी भइरहेको छ । भोलि सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गर्नेछन् । सबै बहस सकिएपछि भोलि फैसला सुनाउनेछ । बहस लम्बिएपछि मुद्दा हेर्दाहेर्दैमा गएको छ । मुद्दा हेर्दाहेर्दैमा गएपछि आजकै इजलासमा रहेका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा मुद्दा जानेछ ।

क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो ।