काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मंगलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।
ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो ।
अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्।
यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।
सन् २०२१ को कुरा गर्ने हो भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दैछन्।
यो पनि : टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, यसरी हेर्ने सकिन्छ लाइभ
यो पनि : यस्तो छ नेदरल्यान्ड्सविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

















