हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ को थानाभर्याङ र सिमलटारका वासिन्दाहरुलाई लक्षित गर्दै बृहत खानेपानी आयोजना सुरु गरिएको छ । यहि आर्थिक वर्ष भित्रमा हेटौंडा ११ सिमलटार, गोल्काफिनटार, थानाभर्याङ, तल्लो थानाभर्याङ सागरपथ लगायतका ३ हजार बासिन्दाले स्वच्छ पिउनेपानी उपभोग गर्न पाउनेछन् खानेपानी बोर्डका अधक्ष्य प्रताप बिष्सटले प्रतिवद्धता जनाए।

बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगतको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको कार्यालयले २ करोड ५० लाख, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले १ करोड १२ लाख र हेटौंडा उपमहानगरपालिकाले १ करोड रुपैयाँ लगानीमा खानेपानीको योजना निर्माण गर्न सुरु गरिएको हो ।
सिमल्टार थानाभर्याङ खानेपानी योजना निर्माणको काम अन्तरगत २ वटा समवेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यसैगरी थानाभर्याङमा पानी ट्याङ्की निर्माणको काम पनि सुरु भएको छ । ४ लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माणको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले आज शिलान्यास गरेका हुन ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, उपमेयर राजेश बानियाँ, हेटौंडा ११ कि वडा अध्यक्ष जुना दाहाल, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडा कार्यालयका प्रमुख हरिराम पौडेल, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।















