नेपाल नेदरल्यान्ड्ससँग पराजित भएपछी यस्तो भन्छन् सोमपाल कामी

Image

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्यान्डस्सँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डस्सँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो।

नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।  नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो ।

भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए । करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे ।  त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए ।  अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।

नेपालको पक्षमा खेल नभए पनि ग्रान्ड प्रिएरीमा उपस्थित समर्थकहरू अन्तिमसम्म मैदानमा हुटिङ गरिरहेका थिए। जब नेदरल्यान्ड्सले अन्तिम ८ बल बाँकी छदा लक्ष्य पूरा गर्‍यो, नेपाली खेलाडीहरूले प्यारापिट नजिक आएर नेपाली समर्थकलाई धन्यवाद दिए।

खेलपछि नेपाली टोलीबाट दोस्रो पटक टी-२० विश्वकप खेल्ने इतिहास रचेका सोमपाल कामीले नेपाली समर्थकलाई धन्यवाद दिए।

‘हाम्रा समर्थकहरू हामीले जितेको हेर्न चाहानुहुन्छ। हामी पनि जित्न प्रयास गर्छौं। हजारौं दर्शक यहाँ आउनु भएकोमा धेरै-धेरै धन्यवाद दिन चाहान्छु। हामीले खुसी दिन त सकेनौं। तर हामीले शतप्रतिशत दिएका थियौं। हामी बाँकी खेलमा ठूला टोलीलाई हराएर खुसी पनि दिनेछौं,’ उनले भने, ‘नेपाल बाहिर यति धेरै दर्शक आउदा धेरै उत्साव हुन्छ। समर्थकको विश्वासले यहाँसम्म आइपुगेका हौं। अब बाँकी खेलमा राम्रो खेलेर जितेर नेपालीलाई गर्व गराउनेछौं।’

अर्का बलर करण केसीले पनि नेपाली दर्शकको मायाप्रति आभार व्यक्त गरे। उनले भने, ‘हामी जहाँ गए पनि समर्थक आएर समर्थन गर्छन्, यसमा धेरै खुसी लाग्छ। अस्ति वेस्ट इन्डिजमा दर्शक हुनुहुन्न होला जस्तो लागेको थियो। त्यहाँ पनि चार-पाँच जना आउनुभयो।’

सोमपालले नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ चल्न नसक्दा पराजित हुन परेको बताए। उनले टसको पनि खेलमा भूमिका खेलेको स्विकार गरे।

‘यस्तो कन्डिसनमा टसले धेरै नै भूमिका खेल्छ। तर पनि हाम्रो नियन्त्रणमा टस थिएन। हामीलाई पहिला ब्याटिङको निम्तो भएपछि यो विकेटमा जति सक्दो धेरै रन बनाउने जित्मेवारी थियो। तर राम्रो लक्ष्य दिन सकेनौं। ब्याटिङ सजिलो भने पक्का थिएन। यो विकेटमा ब्याटिङ गर्न कहि न कहि गाह्रो थियो। २०-३० रन कम भएको लाग्छ मलाई। त्यो रन बनाउन सकेको भए हाम्रो पक्षमा लय आउथ्यो,’ सोमपालले भने।

उनले नेपाली ब्याटरले हतार नगरेको पनि बताउँदै कन्डिसनअनुसार खेल्न खोजेको प्रतिक्रिया दिए। ‘हामीले टी-२० मा गर्न पर्ने ब्याटिङ जस्तै गरी गरेका हौं। पावरप्लेमा राम्रो ब्याटिङ गर्न सकेनौं। उनीहरूले राम्रो बलिङ गरेकाले ब्याटरले राम्रो गर्न नसकेको जस्तो लाग्छ,’ उनले भने।

‘क्याच मिस’ भएको विषयमा प्रतिक्रिया दिँदै सोमपालले अर्को खेलदेखि गल्ती नदोहर्‍याउने बताए।

‘सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। जो फिल्डर पनि क्याच समाप्त नै जान्छ। तर पनि मिस्टेक हुन्छ। मिस्टेकबाट सिक्नपर्छ। हामीले म्याचमा एक क्याच समाप्न अभ्यासमा हजार क्याच गरेका हुन्छौ,’ उनले भने, ‘वान बल ब्याटल हार्न पुगेका हौं। अर्को खेलमा यस्ता मिस्टेक दोहोर्‍याउँदैनौं। क्याच मिसलाई टर्निङ प्वाइन्ट भन्न मिल्दैन। तर क्याच समातेको भए उनीहरुलाई केही दबाब भने हुन्थ्यो।’

नेपाललनेदरल्यान्ड्सविरूद्धको पहिलो खेल जित्न सक्ने धेरैको आँकलन थियो। तर पहिलो खेलमा नै पराजित भएपछि नेपाललाई बाँकी तीन टेस्ट टोलीविरूद्ध खेल्न दबाब हुनेछ। तर सोमपाल नेपाली टोलीमाथि कुनै दबाब नभएको बताउँछन्।

‘हामीलाई यहाँ कुनै दबाब छैन। हामीलाई त विश्वकपमा छनोट हुन दबाब थियो। यहाँ हामी प्रमाणित गर्न आएका हौं। सुपर-८ मा पुग्न लायक छौं भन्ने देखाउन आएका हौं। विश्वकप खेल्न हामीलाई बोलाइएको होइन, हामी छनोट भएका हौं। मिहिनेत गरेर यहाँ पुगेका हौं,’ उनले भने।

अब नेपालले जुन ११ मा अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ। त्यसपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ। त्यहाँ नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा रहेका पाँच टोली मध्ये शीर्ष दुईमा पर्ने टोली सुपर-८मा पुग्नेछन्।