श्रीलंकासंग खेल्नुअघी यस्तो भन्छन् कप्तान रोहित कुमार पौडेल (भिडियो-सहित)

Image

काठमाडौं । आइसीसी टि-२० विश्वकपमा नेपालले दोस्रो खेल बुधबार श्रीलंकासंग खेल्दै छ । यी दुइ टोलिको खेल नेपाली समयअनुसार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुँदैछ ।

श्रीलंकासंग खेल्नुअघी आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले भने श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको छ । विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको बताए।

उनले भने ‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ, अझ विशेष भोलीको खेलअघि । हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं । हामीले यसका लागि २ महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौं र डेढवर्षदेखि नियमित क्रिकेट खेलेका छौं । हामी आफैमा सधैं विश्वास छ ।श्रीलंकामा राम्रा स्पिनर छन् जसले विश्वभर क्रिकेट खेलेका छन् । हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ । तर सबै २० टोली हेर्दा सन्तुलित नै देखिन्छन् । हामीले भोली गएर विश्वसामु आफ्नो प्रतिभा देखाउने छौं ।’

रोहितले अमेरिकामा भइरहेको विश्वकप खेलमा राम्रो स्कोर नबनेपनि फ्लोरिडामा फरक अवस्था हुने बताए । ‘न्युयोर्क र डालासमा भन्दा यहाँ फरक पिच छ जस्तो लाग्छ । विकेट पनि राम्रो छ र क्युरेटरसँग छलफलमा पनि यो कुरा भएको थियो । यसअघि वार्म अप खेलमा पनि १ सय ८० को स्कोर बनेको छ । त्यसैले हामी खेलको प्रतिक्षामा छौं,’।

कप्तान पौडेलले नेपालले ओपनरमा परिवर्तन गर्ने सम्भावना नरहेको बताउँदै मैदानको अवस्था अनुसार टोली छनोट हुने बताए । ‘भोली पनि वर्षाको सम्भावना रहेको छ । अब खेल हुँदा मैदानको अवस्थाले नै टोली छनोटमा निर्णय लिनेछौं । हाललाई भने हामीले ओपनरमा विश्वास कायम राख्ने नै सोच बनाएका छौं,’।