हेटौंडा उपमहानगरकै पहिलो बालमैत्री स्थानीय वडा घोषणा

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं ८ उपमहानगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
शनिबार चन्द्रोदय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा ८ नं. वडा लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।

कार्यक्रममा बोल्दै मेयर लामाले आउने भविष्यमा उपमहानगरलाई बालमैत्री नगर घोषणा गरिने बताएकी छन् । बालबालिकाहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम बनाउनुपर्ने जरुरी रहेको भन्दै बालबालिकाहरुको विकास र क्षमता बृद्धिमा सरकार जिम्मेवार बन्नुपर्ने उनको भनाई रहेको छ ।

बालमैत्री स्थानीय शासन वडा समिति संयोजक एवं ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाले यो वडाले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ वटा सुचकहरु मध्ये ४६ वटा सुचक बाँकी ५ वटा सूचकहरु ९० प्रतिशत भन्दा माथि पूरा गरेको भन्दै बालमैत्री वडा घोषणालाई दिगोपन र निरन्तरता दिनु ठुलो चुनौती रहेको थापाले बताएका छन्।

कार्यक्रममा उपमेयर राजेश बानिंया, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षहरु लगायत टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीयहरुको उपस्थिति रहेको थियो।