हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिन बागमती प्रदेश संसद् सचिवालयमा लिखित पत्र पठाएको संसद् सचिवालयले जनाएको छ ।
सोमबार बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र विश्वासको मत लिने टुंगोमा पुगेका एकीकृत समाजवादीका नेता कृष्णप्रसाद खनालले जानकारी दिए ।
नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले असार २४ गते सामूहिक राजिनामा दिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि साउन ६ गते अपराह्न १ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने तयारी रहेको र त्यहि दिन साउनमा ६ मा नै विश्वासको मत लिन लागेको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

















