हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालन भईरहेको हेटौंडा अस्पतालमा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीहरुलाई विना कारण कामचलाउ प्रदेश सरकारले हटाउन लागेकोमा एमाले मकवानपुरले ध्यानाकषर्ण भएको छ ।
एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आज विज्ञप्ती जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा खेलवाड नगर्नका लागि आग्रह गरे । प्रदेशका मुख्यमन्त्री र स्वास्थ्य सचिवको गैरजिम्मेवारीपूर्ण निर्णयका कारण १४५ जना कर्मचारीहरुको अवकाश गर्ने कार्यले हेटौंडा अस्पतालबाट आम नागरीकले पाउने स्वास्थ्य सुविधाबाट वञ्चीत गर्ने तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तहस नहस पार्ने मनसाय प्रष्ट देखिएको भन्दै एमाले विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा उक्त कार्य तत्काल रोकी हेटौंडा अस्पतालको सेवा सुविधा सुचारु गर्न नेकपा एमाले जोडदार माग गर्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ ।
हाल बर्षाको समयमा आपतकालिन उद्वार र राहत पुर्याउन बढी भन्दा बढी प्राविधिक तथा अन्य जनशक्तिको आवस्यकता पर्ने समयमा यस्तो राजनैतिक पूर्वाग्रहपूर्ण ढंगबाट प्राविधिक जनशक्ति सहित ठुलो संख्यामा रोजगारीबाट निकाल्ने र अस्पतालबाट दिईदै आएको सेवालाई प्रभावित पार्ने गरी हचुवाको भरमा कुनै वैकल्पिक
व्यवस्था नगरी यस्तो अमानविय व्यवहारप्रति नेकपा एमालेको गंभिर ध्यानाकर्षण भएको जनाएको छ । तत्काल उक्त निर्णय सच्याई हाल निष्काशन गरिएका कर्मचारीहरुको वहाली गरी हेटौंडा अस्पतालको विरामीको चापलाई ध्यान राख्दै सेवा सुविधालाई निरन्तरता दिन समेत माग गरेको छ ।















