सौर्यका घा’इते पाइलट मनिष शाक्यले खोले विमान दुर्घटनाको रहस्य

Image

काठमाडौं । बुधबार बिहान बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान पोखरा उडानको क्रममा उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १८ जनाको मृत्यु भएकाे थियाे ।

दुर्घटना पर्ने बित्तिकै जीवितै उद्धार गरिएका क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज लगिएको थियो । उनको सोही अस्पतालमा उपचार जारी छ । स्रोतका अनुसार हिजोभन्दा आज उनको अवस्थामा बढी सुधार भएको छ ।

उनी बोल्न सक्ने अवस्थामा छन् । उनले आफन्तसँग पनि कुरा गरेको अस्पताल स्रोतले जनाएको छ । क्याप्टेन शाक्यको निधारमा चोट लागेको थियो । क्याप्टेन शाक्यले काठमाडौं मेडिकल कलेज (केएमसी)की मेडिकल डाइरेक्टर डा. मीना थापासँग दुर्घटनाबारे केही कुराकानी गरेका थिए । उनले विमान टेकअफ गर्नैलाग्दा ५०/१०० मिटर माथि पुगेपछि नियन्त्रणबाहिर गएकाे बताएका थिए । विमान तल झरेपछि आफू बाहिर निस्केको उनले बताएका थिए । ‘बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको कुरा खुलाउनुभएको छ । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भन्नुभयो, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ ‘उहाँको शरीरको विभिन्न भागमा इन्जुरी थियो । मुख, खुट्टा, आँखाको भाग, टाउको लगायतमा चोटपटक लागेको थियो,’ डा. थापाले भन्नुभयो, ‘प्राथमिक उपचार गरेपछि हामीले विभिन्न परीक्षण सुरु गरेका थियौं ।’

अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेका हुनाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहनुभएको छ । डा. थापाका अनुसार बुधबारै क्याप्टेन शाक्यको सिटीस्क्यान, एक्सरे, रगत लगायत परीक्षण गरिएको थियो । शाक्यको नाकको हड्डी भाँचिएको छ । त्यसैगरी ढाडको एक हड्डी भाँचिएको छ । ‘हिजो गरिएको सिटीस्यानको रिपोर्टले ढाडको हड्डी भाँचिएको देखिएको छ । तर शरीरको अन्य भागमा ठूलो चोट देखिएको छैन,’ डा. थापाले भन्नुभयो । ‘नाक, कान र घाँटी विशेषज्ञ र थर्मोलोजिस्ट लगायत चिकित्सकले हिजो अप्रेसन गर्नुभएको थियो । त्यसपछि हामीले न्यूरो आईसीयूमा राखेर उपचार गराइरेका छौं,’ डा थापाले जानकारी दिनुभयो ।

डा. थापाका अनुसार उहाँ खतरामुक्त हुनुहुन्छ र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । चोटका कारण मस्तिष्क भने केही सुन्निएको उहाँले बताउनुभयो । त्यसैगरी आँखाको भिजनमा पनि थोरै समस्या देखिएको छ । थप समस्या थाहा पाउन आज एमआरआई गर्ने डा. थापाले बताउनुभयो । ‘अरु कुनै जटिलता छ कि छैन भनेर आज पुन एमआरआई गर्ने योजना छ,’ डा. थापाले भन्नुभयो, ‘एमआरआईको रिपोर्ट आएपछि थप स्वास्थ्य अवस्थाबारे जानकारी दिन सकिएला ।’