हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधर विकास मन्त्रालयले प्रदेशभित्र भएका सडकहरुमा हुने बाढी पहिरोको अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली(क्युआरटी) गठन गरेको छ । बुधबार मन्त्रालयमा टोली गठन गरे सँगै मन्त्री अमन कुमार मास्केले जिम्मेवारी प्रदान गरेका छन् ।
कार्यक्रममा बोल्दै हेटौंडा काठमाडौं जोडिने सडकहरु पहिरोका कारण अवरुद्ध भइरहने समस्या धेरै छ त्यस्तो खालको समस्यालाई हटाउन आवश्यक अनुसार मन्त्रालय अघि बढ्ने बताउदै तत्काल मोवाईल टिम खटाउने प्रतिवद्धता गर्दै सञ्चारमाध्यमबाट सुचना प्रवाह गर्ने मन्त्री मास्केले बताएका छन्।
क्युआरटी टोलीको संयोजकमा यातायात पूर्वाधार निर्देशानालयका निर्देशक पुष्कर प्रसाद पोखरेल रहेका छन् भने सदस्यहरुमा मन्त्रालयको सिनियर डिभिजनल ईन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, निर्देशानालयका अधिकृत हरीप्रसाद ओझा र जिल्ला स्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सदस्य रहने पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।
टोलीले के के काम गर्ने छ त?
टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्य निरन्तर गरिनुका साथै सुचना सम्प्रेषण गर्ने, बैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु छिटो सुचारु गर्न अन्तरनिकायसँग समन्वय गर्ने, कार्यालयगत रुपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानूनको अधिनमा रहेर टोली स्वंयमबाट निर्धारित अन्य कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने साथै गर्न लगाउने बताएका छन्।
निर्देशानालयका निर्देशक पोखरेलले सफलता पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै परिणाममुखी काम गर्ने भन्दै आफ्नो टोलीले शर्त अनुसार काम गर्नुका साथै मन्त्रालयको निर्देशनलाई पालना गरि नागरिकहरुलाई सहज पुग्ने गरि काम गरिने बताएका छन्।















