नेपाल र भारतबीचको महिला फुटबलमा किन विवाद भयो? कारण यस्तो

Image

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत आइतबार भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । दुईपटक रोकिएको खेलमा नेपाल घरेलु मैदानमा पेनाल्टी शूट आउटमा भारत माथि ४‍-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पिअनसिपको फाइनलमा प्रवेश गरेको हो।

राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिपमा भारतमाथि यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पिअनशिपको उपाधीका लागि नेपालले अब बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतवार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।

किन विवाद भयो ?

खेलको दोस्रो हाफ निकै तनावपूर्ण बनेको थियो। भुटानी रेफ्री ओम चुकीका एक पछि अर्को निर्णय विवादमा परेपछि खेल एक घण्टा एक मिनेटसम्म रोकिएको थियो।

भारतीय पक्षको डी बक्सभित्र नेपालले ३७औँ मिनेटमा गरेको प्रहार भारतीय खेलाडीको हातमा ठोक्किएपछि नेपालले पेनाल्टी अपिल गरेको थियो। सावित्रा भण्डारी साम्बाले गरेको क्रस विपक्षी रक्षापङ्कक्तिका खेलाडीले हातले रोक्न पुगेकी थिइन्।

नेपाली खेलाडीहरूले त्यसमा पेनाल्टीको अपिल गरे पनि रेफ्रीले त्यसलाई अस्वीकार गरेपछि नेपाली खेलाडीहरूमात्रै नभएर दर्शक पनि चिढिएका थिए। रिप्लेमा बल उनले हातले रोकेको स्पष्ट देखिएको थियो।

दोस्रो हाफको ५० औँ मिनेटमा रेफ्रीले नेपालकी स्टार स्ट्राइकर रेखा पौडेललाई दोस्रो पहेँलो कार्डसँगै रेड कार्ड दिएर मैदान बाहिर पठाएपछि रङ्गशालाको स्थिति केही समय तनावग्रस्त बनेको थियो।

रेखाले पहिलो हाफमा पहेँलो कार्ड पाएकी थिइन्। खेलको ५०औं मिनेटमा भुटानकी रेफ्री ओम चोकीले रेखालाई दोस्रो पहेँलो कार्ड देखाइन्। यसले नेपाल ४० मिनेटको खेल बाँकी रहँदै १० खेलाडीमा सीमित भएको थियो।

सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी चोन्कीलाई फल गरेको भन्दै झन्डा उठाएकी थिइन्। जबकि, रेखाले चोन्कीसँग बल खोस्न जुझेकी थिइन्। भिडिओ रिप्लेमा रेखाले भारतीय खेलाडीलाई छोएको देखिँदैन। उनी बल प्रहार गर्ने क्रममा लडेको देखिन्छ। तैपनि सहायक रेफ्रीले फलको इसारा गरेपछि उनले रातो कार्ड पाइन्।

रेखाले रातो कार्ड पाएसँगै नेपाली खेलाडी र दर्शक आक्रोशित भएका थिए। नेपाली दर्शकले मैदानमा पानीका बोतल प्रहार गरे। यसले १० मिनेट खेल रोकियो। रेखाले रातो कार्ड पाएको १० मिनेटपछि नै भारतले पहिलो गोल गर्दै अग्रता लियो। भारतका लागि सब्स्टिच्युट खेलाडी संगीताले गोल गरेकी थिइन्।

खेलमा अग्रता लिएपछि भारतले धेरै बेरसम्म सेलिब्रेसन गर्‍यो। रेफ्रीले खेल सुरू गर्न आग्रह गर्दा पनि भारतीय खेलाडी नआएपछि नेपालले बल चलाएको थियो। प्रीति राईले त्यो बललाई गोलमा परिणत गरिन्। प्रीतिले प्रहार गर्दा मध्यमागमा रहेकी भारतीय गोलकिपर बल रोक्न कुदे पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो। त्यसपछि रेफ्रीले गोलको इसारासमेत गरेकी थिइन्। तर भारतले त्यो गोलको चर्को विरोध गर्‍यो।

भारतको विरोधपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गर्दै गोल नभएको इसारा गरेकी थिइन्। त्यसपछि नेपालका खेलाडी, अधिकारीहरू र रंगशालामा उपस्थित दसौं हजार दर्शकले विरोध गरे। यसले दोस्रोपटक खेल रोकियो।

नेपालले आफूले गरेको गोल पाउनुपर्ने माग गर्दै धेरै बेरसम्म मैदान फर्कन अस्वीकार गरेको थियो। एक घन्टापछि सुरू भएको खेलमा नेपालकी साम्बाले बराबरी गोल फर्काइन्। उनले प्रीति राईको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् र जर्सी खोल्दै ठूलो खुसी मनाएकी थिइन्।

त्यसपछि खेलको ९० मिनेटसम्म कुनै गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा गयो। पेनाल्टीमा नेपालका साम्बा, गीता राना मगर, सविता राना मगर र अमिषा कार्कीले गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा कप्तान एन्जिला सुब्बाको सट्टा मैदान छिरेकी नेपालकी गोलकिपर अन्जनाले भारतकी कप्तान असलता देवीको पहिलो पेनाल्टी रोक्ने प्रयास गरिन्। उनको हातमा लागेको बल उछिट्टिएर पोलमा पुग्दा गोल हुन असफल भएको थियो। त्यसपछि भारतकी मनिसा र शिरभोकरले गोल गरिन्। तर चौथो पेनाल्टी हानेकी चानुको प्रहार अन्जनाले विफल पार्दा नेपाल पेनाल्टीमा विजयी भयो।

नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रोपटक प्रतिस्पर्धा भएको हो। भारत र नेपालको महिला फुटबलका चिर परिचित प्रतिद्वन्द्वी हुन्। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। त्यति बेला नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।

खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको ओइरो लागेको थियो। १४ हजार दर्शक क्षमता भएको रंगशालामा सबै टिकट बिक्री भएका थिए।