इतिहास रच्ने नेपालको सपना फेरी अधुरै, बंगलादेशले जित्यो साफ च्याम्पियनसीपको उपाधि

Image

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रच्ने नेपालको सपना यो पटक पनि अधुरै बनेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग १-२ गोल अन्तरले पराजित बन्दै नेपाल उपविजेतामै सीमित बनेको हो ।

यससँगै नेपाल साफको फाइनलमा छैटौं पटक पराजित भयो। अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। च्याम्पियनसिपमा तेस्रो पटक फाइनल पुगेको बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो।

यता छैटौं पटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सिमित बनेको छ। नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ।

यस्तै नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो १२औं पटक हो। १२ औं पटक फाइनल खेलेको नेपाल १२ पटक नै उपविजेतामै सीमित बनेको छ।

बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गर्दै दोस्रो पटक अग्रता दिलाएकी थिइन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।

नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्। ५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेको थियो।

नेपालले ६१ मिनेटमा अग्रता लिने अवसर खेर फालेको थियो। सावित्रा भण्डारी साम्बाले ६१ मिनेटमा राम्रो रनिङमा डिबक्सबाट सेकेन्डबार च्याप्दै हानेको प्रहार सफल भएन।

खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन। नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिइन्।

खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे। तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल भए।