इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै

Image

काठमाडौं । नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । पूल ‘बी’को विजेता नेपालले पूल डीको विजेता श्रीलंकासँगको क्वाटरफाइनल भेट पक्का गरेको हो । यो खेल शनिबार दिउँसो १ः३५ बजे हङकङमा हुँदैछ ।

पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको हो। शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाका लागि ज्याक उडले १५ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ५५ रन बनाए । यसैगरी एलेक्स रोसले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि प्रतिशि जिसीले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धासरत ६ ओभरमा दुई विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

नेपालका लागि आक्रमक ब्याटिङ गरेका कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । सन्दीप रिटायर्ड हर्ट भएका थिए ।

सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेकले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेशले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे ।

पहिलो विकेटका लागि सन्दीप र लोकेशले ९८ रनको साझेदरी गरे । राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।