युएईले नेपाललाई दियो बलियो लक्ष्य, रिया र सिमानाको सानदार बलिङ

Image

काठमाडौं । युएईमा जारी यु १९ महिला विश्व कपको एसिया छनोट अन्तर्गत घरेलु टोलीले नेपाललाई बलियो लक्ष्य दिएको छ । अजमानको द सेभेन स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको हो।

यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले ३२ बलमा २० रन बनाइन्। इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी रिया शर्माले सर्वाधिक तीन विकेट लिइन्। रियाले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक/एक विकेट लिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

दुवै टोलिको यो तेस्रो खेल हो । दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो जित हासिल गरेका थिए । उता, युएईले पहिलो खेलमा कुवेतलाई १ सय ६ रन दोस्रोमाले थाइल्याण्डलाई ७४ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ । यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

नेपालको प्लेईङ-११ : पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, मनिशा उपाध्याय, रचना चौधरी, रिया शर्मा, सावित्री धामी, साना प्रविन र सिमाना केसी