काठमाडौं । नेपाली क्रिकेटका लेजेन्ड खेलाडी शक्ति गौचनलाई नेपाल क्रिकेट संघ (क्यान) ले यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार एसिया कपको लागि १८ सदस्यीय टोली घोषणा गर्दा मुख्य प्रशिक्षकको जिम्मेवारी शक्तिलाई दिएको हो ।
मुख्य प्रशिक्षकमा नियुक्त गरेपछी उनले धेरै खुसी हुने भन्दा पनि आफुमा ठुलो जिम्मेवारी थपेको बताएका छन् । ‘जिम्मेवारी पाउदा खुसी त लागि हाल्छ । यो खुसी हुने भन्दा पनि मलाई ठूलो जिम्मेवारी थपिएको महशुस गरेको छु ,’ शक्तिले हाम्रो खेलकुदसँग भने ‘संघले जुन विश्वासका साथ मलाई जिम्मेवारी दिनु भएको छ । उक्त जिम्मेवारीलाई सफल बनाउने मेरो प्रयास रहनेछ ।’
शक्ति पूर्व अलराउन्डर हुन्। उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन्। उनले नेपाली राष्ट्रिय टोलीमा सन् २००२ जुलाईमा ओमानविरुद्धको खेलमा डेब्यु गरेका थिए।
जुलाई २०१८ मा शक्तिले नेदरल्यान्डविरूद्वको एकदिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए। उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन्।
शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। उनले इटालीविरूद्व २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए। उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अवजीत रहेका थिए। शक्तिले २०१८ एभरेस्ट प्रिमियर लिग पछि घरेलु क्रिकेटबाट समेत सन्न्यास लिएका थिए।
पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए। त्यसयता उनी रूपन्देहीमा आफ्नो एकेडेमी सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय लुम्बिनीले खेल्ने उमेरसमूहको प्रतियोगितामा उनले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले पहिलोपल्ट राष्ट्रिय टोली सम्हाल्न लागेका हुन्।















