काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि सानदार जित हासिल गरेको छ । आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ३३ रनमै अल आउट गर्दै खेल फराकिलो अन्तरले जितेको हो । चौथो खेलमा नेपालले तेस्रो जित निकाल्नेक्रममा थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ ओभरमा ३३ रन जोड्दै अलआउट भयो । नेपालको उत्कृष्ट बलिङको कारण थाइल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्याण्डका ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् । नेपालका लागि कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिईन् ।
त्यसअघि नेपालले टस जितेर ब्याटिङ रोजेकोमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ४६ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ५३ रन जोडिन् । सानाले नेपालका लागि प्रतियोगितामा पहिलो अर्धशतक बनाईन् ।
अर्का ओपनर सावित्री धामीले २६ बलमा २८रन बनाईन् । साना र सावित्रीले ओपनिङ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । सोनी पाख्रिनले १० बलमा १९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्यान्डका लागि नाथरिका थोकोईले तीन, केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिए ।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।
डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको पहिलो चरण सकिदा युएई पहिलो र नेपाल दोस्रो स्थानमा छन् । छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।















