काठमाडौं । घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको छ। बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।
नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो । अंक तालिकामा नेपालले नेपालको नेट रनरेट ३.९३५३ छ । युएईको भने ३.७४०३ रहेको छ। फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
जितसँगै ६ खेलबाट १० अङ्क बनाएको नेपाल शीर्षस्थानमा रह्यो । समान १० अङ्क बनाएको युर्एइ रन रेटमा पछि परेको हो । नेपाललाई विश्वकपमा स्थान बनाउन युएईलाई १६.२ ओभरमै हराउनु पर्ने बाध्यता थियो । जसमा नेपाल अगाडि नै सफल भयो । अन्तिम खेलमा आएर घरेलु टोलीले नेपालको दबाब थेग्न सकेन ।

युएई यसअघिका पाँच खेलमा विजयी भएको थियो । युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र नौ विकेट तथा नेपाललाई १३ रनले हराएको थियो । यस्तै यसअघि नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो । नेपालले युएईसँग अघिल्लो खेलमा हारेको बदलासमेत लियो ।
नेपालको जितमा ओपनर साना प्रविनले अविजित ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरिन् । यस्तै, कप्तान पुजा महतोले २१, सोनी पाख्रिनले १३ र सवित्री धामीले १२ रन थपिन् । यूएईकी मेहक ठाकुरले दुई विकेट लिएकी थिइन् ।
त्यसअघि अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनको योगफल तयार पारेको थियो।
यूएईकी समाइरा धर्निधर्काले ३१ रन बनाएकी थिइन् । रिनिथा रजिथले २० र इन्दुजा नन्दाकुमारले १० रन थपिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका चार ब्याटर शून्यमा आउट भएका थिए । 
नेपालबाट कृष्मा गुरुङले चार विकेट लिएकी थिइन् । चार ओभर बलिङ गरेकी कृष्माले १३ रन खर्चिइन् । सिमा केसी र रिया शर्माले समान दुई विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट हात पारिन् ।
यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बागलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र वेस्ट इन्डिज छन् । त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
यसअघि २०२३ मा भएको पहिलो यू-१९ महिला टी-२० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनौट प्रतियोगितामा नेपाल तेस्रो हुँदै एसियाबाट छनौट हुन सकेको थिएन । एशियाबाट युएई शीर्ष स्थानमा रहँदै छनौट भएको थियो ।

















